लिखित परीक्षा दिए भएपछि के गर्ने? ट्रायलदेखि स्मार्ट कार्डसम्मको पूर्ण जानकारी | यातायात व्यवस्था कार्यालय कलंकी

लिखित परीक्षा उत्तीर्ण गरेपछि प्रयोगात्मक परीक्षा (ट्रायल), राजस्व भुक्तानी र स्मार्ट कार्ड प्राप्त गर्नेसम्बन्धी जानकारी

यातायात व्यवस्था कार्यालय कलंकी (ठूलोभर्‍याङ), काठमाडौंबाट नयाँ सवारीचालक अनुमतिपत्र (Driver's License) को लागि आवेदन दिई लिखित परीक्षा सफलतापूर्वक उत्तीर्ण हुनुभएका सम्पूर्ण सेवाग्राहीहरूमा हार्दिक बधाई छ। लिखित परीक्षा उत्तीर्ण गर्नु अनुमतिपत्र प्राप्तिको पहिलो महत्वपूर्ण चरण हो। यसपछिको दोस्रो र निर्णायक चरण भनेको प्रयोगात्मक परीक्षा (Trial) मा सहभागी हुनु र सफल भएपछि राजस्व बुझाई आफ्नो स्मार्ट कार्ड (सक्कल लाइसेन्स) प्राप्त गर्नु हो। सेवाग्राहीहरूमा प्रयोगात्मक परीक्षाको प्रक्रिया, तोकिएको परीक्षा स्थल, लाग्ने शुल्क, राजस्व भुक्तानी तथा पुन: परीक्षा (Retrial) सम्बन्धी कुनै पनि किसिमको अन्योलता नहोस् भनी लिखित परीक्षा पछिको सम्पूर्ण प्रक्रिया र आवश्यक नियमहरूलाई तल बुँदागत रूपमा स्पष्ट पारिएको छ।

१. प्रयोगात्मक परीक्षा (Trial) को मिति, समय र स्थान

  • लिखित परीक्षा उत्तीर्ण भएको नतिजा प्रकाशन हुँदा नै वा कार्यालयको वेबसाइट र सूचना पाटीमार्फत ट्रायल परीक्षा कुन मिति, समय र स्थानमा हुने भन्ने जानकारी दिइएको हुन्छ। परीक्षा सम्बन्धि सूचनाको लागि https://tmokalanki.bagamati.gov.np/category/exam-notices/ हेर्नुहोला ।

  • यस कार्यालयको प्रयोगात्मक परीक्षा (Trial) भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर, गुर्जुधारामा हुने गर्दछ। तोकिएको मिति र समयमा प्रवेशपत्र, आफ्नो सक्कल नागरिकता र दर्ता रसिद (राजस्व तिरेको विवरण) लिएर उपस्थित हुनुपर्छ। (एकेडेमीको फोनः 01-4316222, email: vehicleacademy2016@gmail.com)

२. प्रयोगात्मक परीक्षा (Trial) मा सहभागी हुने र सवारी साधन छनोट

  • सवारी साधनको छनोट: ट्रायल सेन्टरमा उपलब्ध सवारी साधन प्रयोग गर्दा प्रयोगात्मक स्थल तथा सवारीसाधन बापत तोकिएको शुल्क र नियम पालना गर्नुपर्छ।

  • तोकिएको शुल्क: कार्यालय र एकेडेमी बीच भएको सम्झौता अनुसार हाल निम्न शुल्क निर्धारण गरिएको छ:

    • वर्ग A / K (मोटरसाइकल/स्कुटर/मोपेड): रु. २३५।-

    • वर्ग B (कार/जीप/डेलिभरी भ्यान): रु. ४१०.१९

    • वर्ग F / G (ट्याक्टर/पावरटिलर): रु. ५९६.६४

  • अङ्क प्रणाली (70% Rule): ट्रायल परीक्षा १०० पूर्णाङ्कको हुन्छ, जसमा विभिन्न त्रुटिहरूमा अङ्क कट्टा गरिन्छ। अनुमतिपत्र प्राप्त गर्न कम्तीमा ७० अङ्क ल्याएर उत्तीर्ण हुनुपर्छ।

३. यदि ट्रायल उत्तीर्ण भएमा (Passed):

  • राजस्व (License Fee) भुक्तानी: ट्रायल पास भएको २ कार्यदिन पछि वा तोकिएको दिन यातायात व्यवस्था कार्यालय कलंकी (ठूलोभर्‍याङ) मा गई अनुमतिपत्र बापतको तोकिएको राजस्व बुझाउनुपर्छ। यो भुक्तानी कार्यालयमा रहेको बैंक काउन्टरमा गर्न सकिन्छ।

  • स्मार्ट कार्डको पर्खाइ: हाल नयाँ कार्ड छपाइमा लाग्ने समय अनुसार तपाईंको स्मार्ट कार्ड तयार हुन केही दिन लाग्न सक्छ (सामान्यतयाः एक हप्ताभित्रमा कार्ड प्राप्त हुने गरेको छ)।

  • कार्ड जाँच र संकलन: कार्ड तयार भए/नभएको कार्यालयको अनलाइन प्रणाली tmokalanki.bagamati.gov.np/pages/searchList/ मार्फत जाँच गरी पछि कलंकी कार्यालयबाटै सक्कल कार्ड लिनुपर्छ।

४. यदि ट्रायल अनुत्तीर्ण भएमा (Failed):

  • पुनः परीक्षा (Retrial): यदि पहिलो प्रयासमा असफल हुनुभयो भने, लिखित परीक्षा उत्तीर्ण भएको मितिले १८ महिनाभित्र तपाईंले थप दुई पटक (कुल तीन पटक) सम्म प्रयोगात्मक परीक्षा (Trial) दिन पाउनुहुन्छ।

  • तुरुन्त रिट्रायलका लागि: तुरुन्त रिट्रायल दिन चाहनुहुन्छ भने असफल भएको अर्को दिन दिउँसो २:०० बजेदेखि ४:०० बजे अगाडि सम्म कार्यालयमा आउन सक्नुहुन्छ।

💡 विशेष टिप: प्रयोगात्मक परीक्षाको दिन आफ्नो प्रवेशपत्र, सक्कल नागरिकता र रसिद सुरक्षित साथमा बोक्न नभुल्नुहोला। लिखित, ट्रायल र रिट्रायल परीक्षाको प्रवेशपत्र एउटै भएकोले परीक्षाको एउटा चरण सकिएपछि पनि प्रवेशपत्र सुरक्षित राख्नुहोला।