लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि उपयोगी जानकारी
सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन र परीक्षार्थीहरूलाई सहज रूपमा परीक्षा उत्तिर्ण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले यो उपयोगी जानकारी तयार पारिएको छ। परीक्षामा सहभागी हुनुअघि निम्न कुराहरू अनिवार्य रूपमा थाहा पाउनुहोला:
१. लिखित परीक्षा (Written Exam) सम्बन्धी जानकारी
नयाँ पाठ्यक्रम र प्रश्न सँगालो: लिखित परीक्षा वस्तुगत (Multiple Choice Questions) ढाँचामा हुन्छ। यातायात व्यवस्था विभागले सार्वजनिक गरेको ५०० वटा प्रश्नहरूको सँगालो (Question Bank) बाट नै प्रश्नहरू सोधिने हुनाले उक्त सँगालोको राम्रो अध्ययन गर्नुहोला। 📥 प्रश्नपत्रको सँगालो डाउनलोड गर्नुहोस्
पास अंक र मार्किङ प्रणाली: लिखित परीक्षामा उत्तीर्ण हुन कम्तिमा १५ वटा प्रश्नहरूको सही उत्तर दिएको हुनुपर्छ। यस परीक्षामा कुनै पनि नकारात्मक अंक (Negative Marking) हुने छैन।
परीक्षा दिन जाँदा ल्याउनुपर्ने कागजात: परीक्षा हलमा प्रवेश गर्नका लागि सक्कल नागरिकताको प्रमाणपत्र, प्रवेश पत्र (Admit Card) र Entry Fee Payment रसिद अनिवार्य चाहिन्छ।
उत्तरपुस्तिका भर्ने सही तरिका: उत्तरपुस्तिका वा ओएमआर सिट भर्नका लागि आफ्नो साथमा अनिवार्य रूपमा कालो मसी भएको डटपेन लैजानुहोला। पुरा गोलो नभरिएको, गोलो भन्दा बाहिर मसी लागेको वा एउटा प्रश्नको एक भन्दा बढी विकल्पमा गोलो लगाइएको खण्डमा त्यस्तो उत्तरहरू स्वतः अमान्य (सही नगनिने) हुनेछन्।
निषेधित वस्तुहरू: लिखित परीक्षा हलभित्र मोबाइल फोन वा अन्य कुनै पनि इलेक्ट्रोनिक उपकरणहरू लैजान पूर्ण रूपमा निषेधित छ।
२. प्रयोगात्मक परीक्षा (Trial Test) सम्बन्धी जानकारी
ट्रायलका मुख्य चरणहरू (Parameters): ट्रायल परीक्षा उत्तीर्ण गर्न मुख्यतया ८ (Eight), घुम्ती (U-Turn), ट्राफिक लाइट, स्पिड ब्रेकर (बम्प), उकालो (Ramp/Hill Climb), ओरालो, र L-Back जस्ता चरणहरू सफलतापूर्वक पार गर्नुपर्छ।
पूर्व-अभ्यास (Pre-Trial Practice): परीक्षा दिनुअघि आफूले ट्रायल दिने केन्द्रको वातावरण र त्यहाँ उपलब्ध सवारी साधनहरूसँग अभ्यस्त हुन १-२ पटक 'मकटायल' वा अभ्यास गर्नु अत्यन्तै उपयोगी र फाइदाजनक हुन्छ।
साना प्राविधिक कुरामा विशेष ध्यान: धेरैजसो परीक्षार्थीहरू मुख्य ८ बनाउन भन्दा पनि उकालोमा गाडी ब्याक हुँदा, यु-टर्नमा गलत साइड लाइट (Indicator) बाल्दा, बाइकको ट्रायलमा भुइँमा खुट्टा टेक्दा, वा फुटस्ट्याण्डमा नराखी (खुट्टा झुण्ड्याएर) नै अगाडि बढ्दा फेल हुने गर्छन्। त्यसैले यी साना गल्तीहरू नगर्न सजग रहनुहोस्।
३. परीक्षा फेल भएमा (Retrial) को नियम
पुनः लिखित परीक्षाः लिखित परीक्षामा अनुत्तिर्ण भएमा वा अनुपस्थित भएमा ९० दिन (३ महिना) पछि पुनः परीक्षाको लागि आवेदन दिन मिल्छ ।
रिट्रायलको अवसर: यदि लिखित परीक्षा पास भएर ट्रायल परीक्षामा फेल हुनुभयो भने, तपाईंले ९० दिन (३ महिना) भित्र थप अर्को २ पटकसम्म ट्रायल परीक्षा दिने अवसर (Retrial) पाउनुहुन्छ।
राजस्व बुझाउने समय: पहिलो पटक फेल भएको अवस्थामा नियमानुसार दोस्रो कार्यदिनमै पुनः रिट्रायलको राजस्व बुझाएर अर्को ट्रायलको मिति लिन सकिन्छ।
१२ महिनाको समयसीमा: यदि तपाईं केही समय थप सिकेर परीक्षा दिन चाहनुहुन्छ भने, लिखित परीक्षा पास भएको मितिले १२ महिना (१ वर्ष) भित्रमा परीक्षा दिइसक्नु पर्नेछ।
४. ट्रायल पास भएपछिको राजस्व र कागजात
राजस्व भुक्तानी: ट्रायल पास भएको २–३ कार्यदिनभित्र यस कार्यालयमा उपस्थित भई लाइसेन्सको सरकारी राजस्व बुझाउनु पर्नेछ।
१८ महिनाको कडा नियम: ट्रायल पास भएर पनि १८ महिनासम्म राजस्व नबुझाउने परीक्षार्थीको परीक्षा स्वतः रद्द हुनेछ।
आवश्यक कागजात: राजस्व बुझाउन आउँदा ट्रायल पास भएको जनाएको सिट (प्रवेशपत्र) र सक्कल नागरिकता अनिवार्य साथमा लिई आउनु पर्छ (फोटोकपी वा प्रतिलिपि आवश्यक पर्दैन)।
💡 स्मार्ट सुझाव: परीक्षा पूर्ण रूपमा प्रविधिमैत्री र पारदर्शी हुने भएकाले कुनै पनि बिचौलिया वा बाहिरी व्यक्तिको प्रलोभनमा नपर्नुहोला। आफ्नो राम्रो तयारी र आत्मविश्वास नै परीक्षा पास गर्ने सबैभन्दा ठूलो माध्यम हो।
⚠️ कानुनी चेतावनी: परीक्षा मर्यादित र सुरक्षित हुनुपर्छ। यदि कोही कसैले आफ्नो सट्टामा अर्को (लगत) व्यक्तिलाई परीक्षा दिन लगाएको पाइएमा प्रचलित कानून बमोजिम कडा कानुनी कारबाही गरिनेछ।