नयाँ सवारी चालक अनुमतिपत्र (लाईसेन्स) प्राप्त गर्ने प्रकृया, लाग्ने समय र दस्तुर सम्बन्धी जानकारी

यातायात व्यवस्था कार्यालय कलंकी, ठूलोभर्याङ, काठमाडौँले सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रकृयालाई सरल र पारदर्शी बनाएको छ। सेवाग्राहीले यस कार्यालयको आधिकारिक वेबसाइट https://tmoKalanki.bagamati.gov.np मार्फत पनि विभिन्न जानकारीहरू प्राप्त गर्न सक्नुहुनेछ।

नयाँ लाईसेन्स लिन चाहनेहरूका लागि विस्तृत विवरण देहाय बमोजिम रहेको छ:

१. आवेदन र बायोमेट्रिक प्रकृया

  • अनलाइन फाराम: सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन पोर्टल (applydlnew.dotm.gov.np) मार्फत आवेदन दिनुपर्नेछ।

  • मिति छनौट र बायोमेट्रिक: अनलाइन फाराम भर्दा नै कार्यालयमा जाने दिन (Appointment Date) छान्नु पर्दछ र सोही मितिमा बायोमेट्रिक (फोटो, औँठा छाप र दस्तखत) का लागि कार्यालयको १ नं. कोठामा उपस्थित हुनुपर्नेछ।

  • आवश्यक कागजातहरू: बायोमेट्रिकका लागि जाँदा अनलाइन फारामको प्रिन्ट कपी र नागरिकताको सक्कल तथा प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

२. स्वास्थ्य परीक्षण

  • बायोमेट्रिक प्रकृया सफल भएपछि मन्त्रालयले सूचीकृत गरेको स्वास्थ्य सेवा प्रदायक र तोकिएको स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गराई सोको निस्सा/प्रतिवेदन कार्यालयमा पेश गर्नुपर्नेछ।

३. मझौला र ठूला सवारी (वर्ग F र G) को लागि विशेष व्यवस्था

  • अनुभवको अवधि: मझौला सवारी (वर्ग F) र ठूला सवारी (वर्ग G) को आवेदन गर्न वर्ग B (साना सवारी) को लाईसेन्स प्राप्त भएको कम्तीमा २ वर्ष वितेको हुनु पर्दछ। वर्ग थपका लागि सक्कल लाईसेन्स समेत पेश गर्नुपर्ने हुन्छ।

४. परीक्षा र रिट्रायल (Retrial) व्यवस्था

  • स्वास्थ्य परीक्षण र कागजात रुजु भएपछि रु. ५०० आवेदन दस्तुर बुझाई लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षामा सहभागी हुन सकिन्छ।

  • रिट्रायल: यदि पहिलो पटकको ट्रायलमा अनुत्तीर्ण भएमा रिट्रायलको लागि प्रत्येक पटक रु. ५०० को राजश्व बुझाउनु पर्छ। एक पटकको आवेदन दस्तुरले १ पटक लिखित र ३ पटकसम्म ट्रायल परीक्षा दिन पाइने व्यवस्था छ।

५. लाग्ने समय र दस्तुरको विस्तृत विवरण

प्रकृया लाग्ने समय दस्तुर
आवेदन र बायोमेट्रिक (दर्ता, बायोमेट्रिक, स्वास्थ्य परीक्षण र राजश्व भुक्तानी) करिब १ घण्टा रु. ५००
रिट्रायल आवेदन (फाराम दर्ता र राजश्व बुझाउन) करिब ३० मिनेट प्रति पटक रु. ५००
लाईसेन्स दस्तुर (ट्रायल पास भएको ३ दिनपछि बुझाउनुपर्ने) - रु. १,५०० देखि रु. ३,००० (सवारीको वर्ग अनुसार)
स्मार्ट कार्ड वितरण (विभागबाट कार्ड प्रिन्ट भएर कार्यालयमा प्राप्त भएपछि) करिब ३ मिनेट -

थप जानकारीका लागि:

थप जानकारीका लागि कार्यालयका सूचना अधिकारी कुल बहादुर बस्नेत (मोबाईल: ९८५११३५२३८) सँग सम्पर्क गर्न वा कार्यालयको सूचना पाटी र वेबसाइट नियमित हेर्न अनुरोध गरिन्छ।

कार्यालय समय:

  • गर्मीयाममा: बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म

  • जाडोयाममा: बिहान ९:०० बजेदेखि बेलुका ४:०० बजेसम्म